‘लिपुलेक’ कलाकृतिलाई यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’
काठमाडौं- ‘लिपुलेक’ कलाकृतिका लागि यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ पोखराकी अग्रज कलाकार मिलन शेरचनलाई प्रदान गरिने भएको छ।
ललितकलाका विधामा उल्लेखनीय योगदान पुर्याउँदै आएका स्रष्टाहरूलाई ललितकला प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ।
यही वैशाख २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ लकडाउनका कारण स्थगित भएपछि सङ्कलन भएका कलाकृतिहरुको मूल्याङ्कनका आधारमा उनीहरूलाई ६० हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ।

चिप्लेढुङ्गा, ५ असार ः
उनी ‘हानानो ओशिवाना’ अर्थात् झारपातबाट सुन्दर चित्र बनाउने कलाकारका रुपमा परिचित छिन्। उनले भनिन्, ‘यो निकै गर्विलो पुरस्कार हो, जो कोही कलाकारलाई यो पुरस्कार पाउने चाहना हुन्छ, मेरो पनि थियो‚ पाएँ। निकै खुशी छु,’ उनीसहित कास्कीका अन्य दुई स्रष्टाले समेत विशेष र प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
प्रादेशिक पुरस्कार कास्कीका दलबहादुर गुरुङले प्राप्त गरेका छन्। उनले ‘प्रतिस्थापन’ कलातर्फ २५ हजार रूपैयाँ राशि बराबरको पुरस्कार पाउन सफल भएका हुन्। विशेष पुरस्कारमा जिल्लाकै बाबुराम बस्ताकोटीले ‘जिम्ती’ कलाकृतिबाट २५ हजार रूपैयाँ राशिको पुरस्कार प्राप्त गरेका छन्। रासस