बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

लण्डन, १५ जेठ । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो । पुख्र्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आउनुभएको थियो ।

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उहाँलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन । उहाँका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै हुनुहुन्छ । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ ।

नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।