कोरोनाले जगायो माटोको माया, नमूना बस्ती बन्दै कुइरेडाँडा

– जमुनावर्षा शर्मा

पोखरा, १३ जेठ । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान शुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर कृषि कर्मप्रति आकर्षित भएका बेला कुइरेडाँडाका स्थानीयवासीमा पनि त्यही भावना जागृत भएको छ ।

पोखरा महानगरपालिका वडा नं २३ को उपल्लो भेग कुइरेडाँडा गएको करिब एक दशकदेखि सुनसान थियो । अवसरको खोजीमा गाउँ छाडेर हिँडेकाहरु कोरोना भाइरसको त्रासबाट जोगिन गाउँ फर्कन थालेसँगै गाउँको मुहार फेरिने आशा निकै पलाएको छ । अहिले नै गाउँ फेरिन थालिसकेको महसुस भएको छ ।

सोही गाउँका अर्जुन सुनार अहिले गाउँमा पुनः बस्ती बसाल्ने अभियानमा सक्रिय बन्नुभएको छ । सेवानिवृत्त शिक्षक सुनार शारीरिकरुपमा अपाङ्ग हुनुुहुन्छ । कुइरेडाँडाको बसाइँ आफँैलाई सहज नभएपछि उहाँ पनि १० वर्षअघि ठूलाखेत झर्नुभएको थियो । “म सरकारी विद्यालयमा शिक्षण गर्थें, विभिन्न विद्यालयमा अध्यापन गराएँ, करिब एक डेढ घण्टासम्म हिँड्नुपर्ने भएकाले मलाई सहज भएन, अनि पाँचजनाको परिवारसहित ठूलाखेत झरेको हुँ”, सुनार भन्नुहुन्छ, “अहिले समय बदलिएको छ, विदेश गएको छोरा फर्किएको छ, २४ वर्ष अस्थायी जागिरबाट ‘गोल्डेन हेण्डसेक’ बुझेर बसेको छु । आफू जन्मे हुर्केको माटोले बिस्तारै मलाई पिरोल्न थाल्यो, अब यहाँ केही गर्नुपर्छ भनेर म र यहाँका हामी स्थानीयवासी जुटेका छाँै ।”

पाँच वर्ष साउदी बसेको छोरा फर्केपछि उहाँमा अर्को खुशी पनि थपिएको छ । “कोरोना देखिनुअघि नै साउदीबाट छोरा फर्कियो, छोरा साथमा भएपछि थप ऊर्जा मिलेको छ, घरको आँगनसम्मै फैलिएको झाडी हटाउँदै अहिले घर मर्मत, सरसफाइ आदि काममा दिनचर्या बितेको छ ।”

साउदीबाट फर्किएका यहाँका अर्का स्थानीय मदन पनि अब गाउँको विकासमा लाग्ने बताउनुहुन्छ । “आर्थिक अभाव पूरा गर्ने एउटै माध्यम विदेश हो कि भनेर विदेश हुइँकिएँ, कैयौँ भोगाइ र अनुभव लिएर फर्किएको छु, अब गाउँको विकासमा सक्रिय हुन्छु”, मदनले भन्नुभयो ।

कुनैबेला कवि, कलाकारदेखि आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने यस ठाउँ सुनसान बन्दा ६० वर्षका बलवीर सुनारलाई पनि चिन्ता लागेको थियो । कोरोनाले गाउँको माया जगाइदिएपछि उहाँ अहिले खुशी हुनुहुन्छ । “मेरो एक छोरा चार छोरी छन्, छोरीहरुको बिहे भयो, छोरा विदेश गयो, बुहारी नातिनातिना पढाउन ठूलाखेत झरिन्, गाउँमा हामी बूढाबूढी एक्लै भएपछि छोराले माथि बस्न नदिएर ठूलाखेत झरेका थियौँ । तर अहिले कोरोनाले गर्दा सबैले गाउँलाई माया गरेर फर्किन थालपछि हामी पनि आयौँ, औधी खुशी लागेको छ ।” विदेशमा रहेको छोरा पनि आउने तयारीमै रहेका र बन्दाबन्दीका कारण आउन नपाएको उहाँले बताउनुभयो ।

सुनारले अहिलेसम्म पाँच घर परिवार यहीँ बस्नेगरी फर्किसकेका र अरु केही परिवार पनि अहिले घर वरपर सरसफाइ गर्दै बेँसी फर्किँदै गरेका र अब आउने तयारी गरिरहेका जानकारी दिनुभयो । “अहिलेको काम घर लिपपोत, बिग्रे भत्केको मर्मत गर्ने र बारीको झाडी पन्छ्याउने मात्रै भएको छ”, उहाँले भन्नुभयो ।

सुनारका अनुसार गाउँमा ताँमागीबाट पाइप जोडेर खानेपानी ल्याउने काम सम्पन्न भएको छ । खाली तारमा चट्याङ पर्दा आगो बल्ने खतराले सोलार प्रयोग गरिएको छ । कसैले टुकीको सहारामा अँध्यारो छिचोलिरहेका छन् । मोबाइल चार्ज गर्न समस्या पनि उत्तिकै झेल्नुपरेको छ । तर निरास छैनन् कोही पनि । भन्छन्, “अहिले व्यवस्था हुँदैछ सबैकुरा मिलेपछि बिजुलीको व्यवस्था पनि भइहाल्छ ।”

त्यसो त छ वर्षअघि नै यस गाउँका जीवन सुनारले पनि गाउँ फर्क अभियान चलाउनुभएको थियो । सुनारले कतारमा रहँदा नै सुनार समाज गठन गरी गाउँमा बस्ती बसाल्न करिब रु ६ लाख सङ्कलन गरेको बताउनुभयो । “मैले धेरै प्रयास गरेँ तर सफल भएन, सुनार समाजबाट करिब रु ६ लाख पनि सङ्कलन भएको थियो, कसैले चासो नदिएपछि सबैलाई रकम फिर्ता गरियो, अहिले कोरोना त्रासले माटोको माया जगाइदियो, मलाई झन खुशी लागेको छ ।”

दश वर्ष कतार बसेर आउनुभएका सुनार वडा नं २३ को दलित समन्वय समितिको अध्यक्ष हुनुहुन्छ भने होमस्टे एशोसिएसन गण्डकीको सदस्य । कुइरेडाँडालाई एक नमूना बस्ती बनाएर, कोरोनापछिको एक आकर्षक गन्तव्य बनाउने लक्ष्य उहाँको छ । “यो सुन्दर बस्ती विभिन्न कारणले सुनसान भयो, धेरै प्रयासपछि अहिले सबै जागेका छन् । यसलाई होमस्टेदेखि सुनार समुदायको रहनसहन संस्कृति झल्कने सङ्ग्रहालयसमेत बनाएर नमूना बस्ती बनाउने सोँच छ”, उहाँले भन्नुभयो । सुनारले ४५ घर परिवारका करिब ६÷७ सय रोपनी जग्गा रहेको र अहिले गाउँको विकासमा साझा धारणा बनिसकेको बताउनुभयो ।

कुइरेडाँडामा बस्ती बस्दै गरेको थाहा पाएपछि पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले मौसमी लहरे बालीका २०० बिरुवा उपलब्ध गराउनुभयो । उहाँले डाँडाको माटोमा उब्जनी हुने सुन्तला, कागती, घिरौँला, करेलाको बिरुवासँगै काँक्राको बीउ प्रदान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुइरेवासीहरु कृषिकर्मतिर फर्कनुभएको छ, यो क्षेत्र प्राङ्गारिक कृषिका लागि उपयुक्त रहेकाले हामीले विशेषरुपमा हेरेका छौँ, आवश्यक पर्ने सहयोग गर्न महानगर तयार छ ।”

कुइरेडाँडाका सुनार समुदायको कार्य उदाहरणीय भएको बताउनुहुन्छ कुइरेडाँडाका छिमेकी युवा भानु पराजुली । “यो निकै सकारात्मक कदम हो । गाउँ र आफ्नो माटो बिर्सेकाहरुलाई आफ्नो जन्मे हुर्केको ठाउँको माया कोरोनाले जगाइदिएको छ । बेला बेला सुझाव माग्नुहुन्छ मैले पनि सहयोग गर्ने गरेको छु, उहाँहरुको यो सक्रियताले कृषिकर्मलाई उकास्ने विश्वास लिएको छु ।” पराजुलीकै पहलमा अहिले गाउँ फर्कनेलाई कृषिमा लाग्न अभियान नै चलाइएको छ ।

कृषि तथा वातावरण एवं भूगोल विषयका एक अध्येता पराजुलीले पोखरामा कृषिको अवस्थाबारे जानकारी दिँदै पोखरा महानगरमा ११ हजार २०० हेक्टरमा धानखेती हुने, उत्पादन करिब ३९ हजार २०० टनमात्र हुने र त्यसमा पनि खानयोग्य भनेको २० हजार टनमात्र रहेको बताउनुभयो । पोखराको स्थायी जनसङ्ख्या करिब पाँच लाख र अस्थायीसमेत गरी १५ लाख जनसङ्ख्या रहेको अनुमान छ । अहिलेको यो जनसङ्ख्यालाई आँकलन गर्दा प्रतिवर्ष एक लाख टनभन्दा बढी धान उत्पादन हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार पोखरामा कोदो पाँच हजार हेक्टरमा लगाइन्छ भने उत्पादन ६ हजार टन हुन्छ । त्यस्तै मकै नौ हजार हेक्टर जमिनमा लगाइन्छ र २५ हजार टन उत्पादन हुन्छ । त्यसैगरी गहुँ दुई हजार ५०० हेक्टरमा लगाइन्छ भने उत्पादन पाँच हजार टनमात्रै छ । तेलहन २७० हेक्टर जमिनमा लगाइएको देखिन्छ । पोखरामा सबै याममा गरी दुई हजार हेक्टरमा तरकारी लगाइन्छ, उत्पादन भने ३१ हजार टन छ । यो मागको ३० प्रतिशतमात्र हो । यसरी हेर्दा पोखरा उत्पादनको हिसाबले च्याउ, अण्डा र मासुबाहेक अधिकांशमा परनिर्भर रहेको देखिन्छ ।

पराजुलीले यस्तो अवस्थामा शहर बजार झरेकाहरु गाउँ फर्किएर कृषि कर्ममा जोडिन थाले परनिर्भरताको बाटो अन्त्य हुने बताउनुहुन्छ । जसले कृषिकर्म गर्छ उसको स्वामित्वमा पर्याप्त जग्गा नहुनु र जो जग्गाको मालिक छ, उसले कृषि कर्म नगर्नु पनि समस्या रहेको उहाँको भनाइ छ ।

पोखरा महानगरले यो वर्षलाई ‘उत्पादन वर्ष’ घोषणा गरी उत्पादनलाई जोड दिँदै बजारीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिन उपयुक्त हुने सुझाव दिनुहुन्छ पराजुली । उहाँ भन्नुहुन्छ, “अहिले पोखरा महानगरका कृषियोग्य जमिन भएका २० वटा वडामा औसतमा तीन हजारभन्दा बढी युवा फर्किएका छन् भने कोरोनाको कहर सकिएपछि खाडी र अन्य देशबाट पनि हजारौँ युवा यहाँ आउने निश्चित छ । त्यसैले पनि यस देशका सबै तहका सरकारले विशेष नीति बनाएर युवालाई आधुनिक कृषितर्फ जोड्न सके कृषि क्रान्ति सम्भव हुने उहाँको सुझाव छ । रासस