सडकछेउको अव्यवस्थित बस्तीले समस्या थप्दैछ

– हेमन्त केसी

जाजरकोट, ११ जेठ । सूचनाको पहुँचदेखि यातायातको सहज सुविधा भएसँगै सडक छेउछाउ पारेर बस्ती बसाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । रणनीतिक महत्वको सडकदेखि ग्रामीण सडकले छोएका सबै ठाउँमा मानिसको उपस्थिति पछिल्लो समय बाक्लो देखिन्छ । गाउँमा खेतीबाली लगाएर कृषिजन्य वस्तुको उत्पादन बढाउनुभन्दा पनि यातायातको सुविधाकै लागि कसरी सडक नजिक पारेर बस्ने भन्ने होड यस क्षेत्रका मानिसमा देखिएको छ ।

गाउँमा विगतका वर्षहरुमा कृषिजन्य उत्पादन घट्दै गएको छ भने गाउँ छोडेर राजमार्ग वरपर बस्न जानेको सङ्ख्या प्रतिदिन बढेको छ । मानिसले गाउँघर छोडेपछि पशुपालनदेखि खेतीबालीको काम गर्ने तथा खेती गरिएको थोरै जमिनमा पनि प्राङ्गारिक मल प्रयोग गर्नेको सङ्ख्यासमेत प्रतिदिन घट्दो छ । मानिसको बस्ती त बढेकै छ यसका कारण सडक नै अतिक्रमणको चपेटामा पर्ने चिन्ता पनि थपिएको छ । चिन्ता योमात्र होइन । यसरी सडक च्यापेर बस्ती बसाल्न थालेपछि यसले दुर्घटना बढ्नसक्ने समस्या थपिदिएको जानकारहरु बताउँछन् । पछिल्लो समय हेर्दा छिन्चु–जाजरकोट हुँदै डोल्पासम्म जोड्ने सडकमा नयाँ संरचना निर्माणको काम तीव्र पारिएको छ । पक्की सडकभन्दा पनि नयाँ निर्माण गरिएको सडकमा बस्ती सारेर आर्थिक क्रियाकलाप गर्नेको सङ्ख्या बढेको स्थानीयवासीको भनाइ छ ।

सबै सडकको केन्द्रमा जाजरकोट

जाजरकोट र रुकुमपश्चिम भएर अहिले तीनवटा ठूला सडक चालू अवस्थामा छन् । सबैभन्दा बढी सामरिक महत्वका तीनवटा सडकको मुख्य केन्द्रविन्दु जाजरकोट नै परेको छ । नेपाल–भारतको सिमाना जमुनाह नाकाबाट शुरु भएको छिन्चु–जाजरकोट–डोल्पा सडकखण्ड चीनसँग जोड्ने मुख्यमार्ग नै यही भू–भागमा पर्छ ।

त्यस्तै सबैभन्दा छोटो मार्ग भनेर चिनिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल) समेत रुकुमपूर्व र रुकुमपश्चिमको भाग हुँदै जाजरकोटमा ८० किलोमिटर सडकले छुने गर्छ । जाजरकोटबाट जुम्ला हुँदै रारा जाने सडकसमेत जाजरकोटका अधिकांश भाग भएर निर्माण कार्य जारी रहेको छ ।

कर्णाली प्रदेशकै सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनासमेत जाजरकोटपूर्वको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ । नयाँ निर्माण भएका साना सडकदेखि निर्माण कार्य चालू अवस्थामा रहेका ठूला सडकमा अहिले यातायातको सहज पहुँच भएसँगै संरचना निर्माण कार्यलाई तीव्र बनाइएको छ । तर अर्काे दुःखद पक्ष यो पनि छ कि सडक नै मिचेर नयाँ बजारको संरचनासमेत निर्माण गरिएका छन् ।

बन्दैछन् नयाँ नयाँ बजार

छिन्चु–जाजरकोट सडक खण्ड कालोपत्र भए पनि सो ठाउँमा यातायातका साधन दोहोरो सञ्चालन गर्न मुस्किल अवस्था छ । मुख्य राजमार्ग भए पनि दोहोरो यातायातका साधन सञ्चालनमा समस्या भएपछि चर्को आलोचनासमेत हुँदै आएको छ ।

यो सडकमा भेटिने यातायातका साधन एकले अर्कोलाई पास गर्न फराकिलो भएको ठाउँमा रोकेर केही समय पर्खनुपर्ने अवस्था रहेको सो सडक खण्डमा विगत १० वर्षदेखि जिप चलाउँदै आएका चालक भीमबहादुर बुढाले बताउनुभयो । अधिकांश ठाउँमा सडक दुर्घटनासमेत साँघुरो सडककै कारणले हुने गरेको उहाँको भनाइ छ । नलगाड जलविद्युत् आयोजनाका सामग्री लिनसमेत यो सडकमा समस्या पर्ने आयोजनाले बताउँदै आएको छ । अधिकांश ठाउँमा पुल, पुलेसोको निर्माण कार्य भने जारी रहेको छ ।

करोडाँै बजेट खर्च गरेर पनि ढुक्करुपमा सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नु दुःखद भएको नागरिक अगुवा केशवजङ्ग शाहको भनाइ छ । यो सडकको ठाउँ ठाउँमा स्थानीयवासीले सडकै मिचेर संरचना निर्माण गर्दा अर्को समस्या आइलागेको छ । जाजरकोट खण्डकै भेरी नगरपालिकाको फेरालगायतका दर्जन ठाउँमा सडक मिचेर घर तथा संरचना निर्माण गरिएका छन् ।

गाउँबाट झरेर मानिस सडकको छेउछाउमा भौतिक संरचना निर्माण गरी बस्ती बसाएकाले समस्या आइलागेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक अतिक्रमण गरेर बसेकालाई सडक छाड्न पटक पटक आग्रह गरिएको छ तर कसैले पनि छाडेका छैनन्, अहिलेको यो अवस्थाले पछिसम्म पनि चुनौती खडा गर्न सक्ने देखिन्छ ।”

सदरमुकाम खलङ्गामा सबैभन्दा बढी सडक अतिक्रमण गरी संरचना निर्माण गरिएको छ । त्यस्तै जाजरकोट सदरमुकामदेखि दुनैसम्मको कच्ची सडकमा दैनिक नयाँ संरचना निर्माण कार्य तीव्र पारिएको देखिन्छ । नयाँ संरचना निर्माणले गर्दा सडक निर्माण कार्यलाई समेत अवरोध गरेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । सडक निर्माण गर्ने ठाउँमा मानिसले घर निर्माण गरेका छन् उहाँले भन्नुभयो, “हामीले सडक निर्माण गर्न लाग्दा उनीहरुको व्यापक अवरोध हुने गरेको छ जसका कारण तोकिएको समयमा सडक निर्माणको काम पूरा हुन पनि सकेको छैन ।”

जाजरकोटदेखि डोल्पासम्म ११८ किलोमिटर सडक छ । अधिकांश ठाउँमा पुलपुलेसा निर्माणको काम बाँकी रहेको छ । जाजरकोटको रिम्ना, चिसापानीलगायत ठाउँमा पुल निर्माण भएका छन् । अन्य बाँकी ठाउँमा साना ठूला गरी १२ वटा पुल निर्माण गर्नुपर्ने अवस्था छ ।

अहिले कच्ची सडकमात्र निर्माण भएकाले कालोपत्र गर्दा धेरै भूभाग कटान गर्नुपर्ने निश्चित छ । कच्ची सडक भएकै ठाउँमा सडक नै मिचेर निर्माण गरिएका संरचनाले नै भोलि गएर सडक निर्माण कार्यलाई अवरोध गर्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने यार्सन नेपालका संयोजक तथा सामाजिक अभियन्ता सहदेव बस्नेतले बताउनुभयो ।

पिपे, रिम्ना, पिपलचौर, बाँके, भल्मा, चिसापानी, छेप्का, कायखेत मैदे, दारिमपाटा, चौखा, तल्लु हुँदै डोल्पाका अधिकांश ठाउँमा सडक नै अतिक्रमण गरी नयाँ संरचना निर्माण कार्य तीव्र पारिएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गको कुदुदेखि दैलेखको सिमानासम्म बाक्लोरुपमा अस्थायी संरचना निर्माण गरिएका छन् । यो सडक अहिले ३५ किलोमिटर पिचको काम शुरु भएको छ । सडकको छेउमा निर्माण गरिएका भौतिक संरचनामा सडक निर्माण गर्दा निकालिएको माटोकै कारण पहिरो जाने भएकाले जोखिमसमेत बढेको छ । जाजरकोटको कुदुदेखि दैलेखसम्मको बाटोमा ८० किलोमिटर भूभाग पर्छ ।

यसरी दैनिकजसो निर्माण भएका संरचनालाई व्यवस्थित गर्नेतर्फ स्थानीय सरकारले चासो नदिने हो भने सडकबाट गएको माटोले त्यहाँको बस्ती जोखिममा पर्नाका साथै माननीय क्षति हुने निश्चित देखिन्छ । संरचनाकै कारण सडक निर्माणमा अवरोध गर्ने र पछि गएर राज्यसँग मुआब्जा माग गरेर आर्थिकरुपमा क्षति हुने सम्भावना पनि त्यत्तिकै रहेको छ । अहिले निर्माण गरिएका सडकलाई मुख्य सडकको रुपमा मानेर कति भाग ओगट्ने हो भन्ने तथ्याङ्क निकालेर सबैलाई सुरक्षित बसोबासका साथै कम क्षति हुनेतर्फ ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

जाजरकोट हुँदै जुम्ला जोड्ने सडक खण्डको भेरी नगरपालिकाको बाहुनथाना हुँदै पाँचकाटियासम्म निर्माण जारी रहेको सडकमा गलत योजनाका कारण समस्या हुँदै आएको छ । यसले गर्दा सडक निर्माणमा समेत ढिला भइरहेको छ । यहाँका दर्जनौँ घर जोखिममा परेका छन् । वैज्ञानिक नक्साङ्कन नगरी हचुवाको भरमा घरैपिच्छे सडक लिने होडबाजीका कारण समस्या निम्तिएको अहिले नै स्पष्टै देखिएको छ ।

गाउँ पातलियो, सडक भरियो

मध्यपहाडी लोकमार्ग, जाजरकोट–डोल्पा सडक खण्ड र जाजरकोट जुम्ला सडक खण्डमा अहिले जथाभावी सडक निर्माण कार्यलाई निरन्तरता दिइएको छ । स्थानीय सरकारको स्वीकृति लिएर नक्सा पास गरेरमात्र घर निर्माण गर्नुपर्नेमा त्यसो नगरी भकाभक घर निर्माण गरिएका छन् । गाउँमा घर भए पनि सडकको छेउमै बस्ने होडबाजीका कारण गाउँमा कृषि उत्पादनका क्रियाकलापसमेत घटेको छ ।

पशुचौपाया पालनदेखि अन्य उत्पादनका काममा समेत कमी आएको छ । अहिले यहाँ पनि आयातित अन्नमा भरपर्ने मानिसको सङ्ख्य दैनिक बढ्दो छ । नदी तथा खोलाको किनारमा बस्ती बसाएर बाढीको सम्भावनासमेत त्यत्तिकै बढेको छ । जथाभावी नदीजन्य वस्तुको दोहन तथा निकासीका कारण बाढीको सम्भावना बढेको छ । आर्थिक लाभको होडबाजीले गर्दा दैनिक खोला तथा नदीको दोहन हुँदा यसले दीर्घकालीन असर पर्ने निश्चितजस्तै भएको छ । यी सबै मानवीय गतिविधिमा कमी ल्याएर बस्ती व्यवस्थापन गर्ने काममा स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार र सजग बन्नुपर्ने देखिएको छ । यो अव्यवस्थालाई नरोक्ने हो भने यसले भोलिको पुस्तालाई अझ बढी समस्या पार्ने देखिएको छ । रासस

फाइल तस्विर