ढोका थुनेर बसे पनि झ्यालबाट छिर्ने कोरोनाले जोखिममा छ ‘काठमाडौं’

काठमाडौं, १ जेठ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । संक्रमित तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखिएको छ ।

उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ ।

लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको समाचारमा उल्लेख छ ।

जनस्वास्थ्यविद् दिनेश न्यौपाने भन्छन्–‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं । उनले सीमा बन्द गर्दा चोरबाटो हुँदै प्रवेश गर्नेको संख्या बढेको सुनिएको भन्दै यसले थप जोखिम बढाउने चे’तावनी दिए ।