क्वारेन्टाइन पूरा गरी दशगजामा अलपत्र परेका ५ सय बढी नेपालीलाई रुपन्देही भित्र्याइयो

बुटवल, ३१ वैशाख । भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आइपुगेर अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी आज रुपन्देही ल्याइएको छ ।

भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको बताइएको छ ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने छन् ।

नौतनवामा अझै १५ सय जनाभन्दा बढी नेपाली रहेका र तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका नौ सय ६९ जनालाई भोलि (बिहीबार) रुपन्देही भित्र्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

क्वारेन्टाइन बसाइँ पूरा गर्दा पनि स्वदेश आउन नपाएपछि नेपालीहरूले दशगजा क्षेत्रमै भोक हड्ताल सुरु गरेका थिए ।