पेटको अप्रेसन गर्दा हराएको ३ वटा नक्कली दाँत ८ दिनपछि घाँटीमा फेला परेपछि

एजेन्सी । बेलायतमा एक ७२ वर्षीय वृद्ध व्यक्तिको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेपछि हंगामा मच्चिएको छ । ती वृद्ध निल्न समस्या भएपछि अस्पताल पुगेका थिए ।

उनी यहिँ समस्याका कारण पटकपटक अस्पताल धाउनुपरेको थियो । त्यसबाहेक पेटको शल्यक्रियाका कारण उत्पन्न जटिलतालाई सच्याउन उनको थप शल्यक्रिया समेत गर्नुपरेको थियो र शरीरमा रगत दिनु परेको थियो ।

ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रक्रियाहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ । यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बेहोस नबनाई नक्कली दाँत निकाल्न सुझाव दिएका थिए ।

सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रिया गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठोस खानेकुरा खान नसकेको बताएका थिए ।

गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रियाका क्रममा घाँटीमा राखेको ट्युबको नकारात्मक प्रभावले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निम्त्याएको ठान्दै उनलाई एन्टीबायोटिक र अन्य औषधि दिएका थिए ।

दुई दिनपछि ती व्यक्ति पुन: समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्धगोलाकार आकारको वस्तु अड्किएको फेला पारेका थिए ।

त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रियाका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा नक्कली दाँत हराएको बताएका थिए ।

०००

यो हो विश्वकै महँगो चकलेट, मूल्य सुन्दै उड्छ होस् !

एजेन्सी, १५ कात्तिक । बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्ने गरेको प्राय हामी सबैलाई थाहा छ ।

तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको एउटै चकलेटको मुल्य यत्ति धेरै पर्न आएको हो ।

भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्न आउँछ ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ । दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेटलाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन् ।

एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन् । ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीले बताएको छ ।

०००

यो हो १६०० किलोको राँगो, दैनिक सेल्फी लिनेको भिड !

एजेन्सी, १३ कार्तिक । भारतको हैदराबादमा आयोजित पशु मेलामा राखिएको १६ सय किलोको राँगो सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ । यो नश्ल सुधार गरेर जन्माइएको राँगो हो । यसको कद ७ फुट र लम्बाइ १५ फुट रहेको छ ।

हैदराबादका पुलिस कमिश्नर अंजनी कुमारले राँगोसँगकोे तस्बिर सार्वजनिक गरेका छन् । राँगोसँग सेल्फी लिनेको मेलामा भिड लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २ वर्षमा १ लाख २५ हजार भारतीय रुपैयाँ अर्थात नेपाली दुई लाख रुपैयाँ राँगोका मालिकले पुरस्कार पाएका छन् । मेला संयोजक अभिनन्दन यादवले विभिन्न प्रकारका राँगो मध्ये यहीँ राँगोले पुरस्कार प्राप्त गर्ने गरेको बताए ।

यो राँगोले हरेक दिन विभिन्न प्रकारका दाल, एक किलो फलफूल, १० लिटर दुध, दुई दर्जन केरा खान्छ । यसले घाँस पनि महंगो खालको खाने गरेको छ । यसलाई हरेक दिन ५ किलोमिटर हिडाउने गरिएको छ ।

यादवकाअनुसार हरेक दिन यो राँगोलाई तेल लगाएर मालिस गरिन्छ । यो राँगो खरिद गर्नका लागि सयौँ व्यक्ति आएपनि आफूले हालसम्म बिक्री नगरेको उनले बताएका छन् ।