ओमानका राजकुमार ममुद अललाई टेलिफोन गरी ओमानमा कार्यरत नेपालीको अवस्थाबारे प्रधानमन्त्री ओलीले लिए जानकारी

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदबीच टेलिफोन वार्ता भएको छ ।

कोरोना भाइरस (कोभिड–१९ )महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिएका हुन् ।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छु, कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले ओमानमा कार्यरत नेपालीले इमानदार र परिश्रमीका रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुसी लागेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ओमानमा २५ हजार नेपाली कार्यरत छन् ।