ओम्नीले निर्वाचन आयोगलाई २५ करोडमा ‘सेकेन्ड ह्यान्ड’ प्रिन्टर बिक्री गरेको खुलासा !

काठमाडौं, २३ चैत । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण प्रयोजनका लागि मेडिकल सामग्री खरिदमा भएको अनियमिततामा मुछिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल कम्पनीको यो भन्दा अगाडिको बदमासी पनि फेला परेको छ । जसले निर्वाचन आयोगलाई प्रयोग भइसकेकोे (सेकेन्ड ह्यान्ड) प्रिन्टर बेचेको खुलासा भएको हो ।

निर्वाचन आयोगले ओम्नीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि २०६४ असोजमा करिब २५ करोड रुपैयाँ तिरेर तीनवटा प्रिन्टर खरिद गरेको थियो । हालै भएको उपनिर्वाचनमा ती उपकरणबाट मतपत्र छापिने अवस्था नेदेखेपछि जनक शिक्षा सामग्री केन्द्रबाट मतदाता नामवली र मतपत्र छपाइको काम गरिएको हो ।

ओम्नीसँग बिनाप्रतिस्पर्धा खरिद गरेका छपाइ उपकरणले काम नगर्ने भएपछि जनक शिक्षालाई दिएको आयोगका एक अधिकारीले बताए । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले उपनिर्वाचन प्रयोजनका लागि मतपत्रलगायतका सामग्री जनक शिक्षाबाट छापेको पुष्टि गरे । राष्ट्रियसभाको मतपत्र भने आयोगमै छापिएको उनको भनाइ छ ।

आयोगले रंगीन प्रिन्टर एक थान र श्यामश्वेत प्रिन्टर दुई थान गरी तीन थान उपकरण २४ करोड ६७ लाख २४ हजार २ सय रुपैयाँ हालेर ओम्नीसँग सीधै खरिद गरेको थियो । आयोगका एक उच्च अधिकारीका अनुसार आयोगले आफूसँग रहेका १३ थान प्रिन्टर मर्मत गरी सञ्चालन गर्न बाधा परेको कारण देखाई बढी क्षमताका रंगीन प्रिन्टर एक थान र श्यामश्वेत प्रिन्टर दुई थान खरिद गर्न २६ करोड रुपैयाँ रकमान्तर गरेको थियो । निर्वाचन प्रयोजनका लागि उपकरण खरिद गर्नुपर्ने भएपछि तत्काल रकमान्तर गरेर भुक्तानी गरिएको थियो, आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

‘तीनवटा छपाइ उपकरणमध्ये दुईवटाको इन्जिनले राम्रोसँग काम गर्न नसक्ने पाइएपछि उपनिर्वाचनको मतदाता नामवली र मतपत्र छपाइको जिम्मा जनक शिक्षालाई दिइएको हो’, आयोगका एक अधिकारिले भने । हालै भएको राष्ट्रियसभाको निर्वाचनमा भने आयोगले आफूसँग भएका पुराना प्रिन्टरबाट मतपत्र छापेको उनले बताए ।