काठमाडाैँ खानेपानीमा मनपरीतन्त्र हावी, १ जनाका लागि मात्रै जबर्जस्त मापदण्ड तय

काठमाडौं, ६ चैत । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न कुनै एक व्यक्तिलाई मात्र आकर्षित हुने कार्यविधि बनाएर लिमिटेड सञ्चालक समितिबाटै नीतिगत बदमासी भएको खबर आजको राजधानी दैनिकमा छ ।

हालै संशोधित केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्यविधिमा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको छ ।

तत्कालीन महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । ९० दिनका लागि नियुक्ति पाएका उनले पुनः कानुनी आधारमा थप ९० दिनको भूमिकामा छन् । तर, उनै शाक्यलाई मात्र मान्य हुने गरी चलखेलका आधारमा कार्यविधि तय भएको पाइएको हो ।

संशोधित कार्यविधिको बुँदा नम्बर ८ मा पूर्णांक १५० तोकिएको छ । जसमा शैक्षिक योग्यता अनुभव मात्र ७० तोकिएको छ । त्यस्तै, कार्यपत्र लेखन ४०, कार्यपत्र प्रस्तुतीकरण २० र अन्तर्वार्ता २० गरेर १५० पु¥याइएको छ । कार्यविधि २०७१ मा अंकभार क्रमशः ५०, ५०, ३० र २० तोकिएको थियो । अहिले एउटा व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि परिमार्जन गरिएको हो ।

शैक्षिक योग्यता र अनुभवबापतको ७० अंकमा प्रथम, द्वितीय र तृतीय श्रेणीको क्रमशः २०, १८ र १५ अंक थप सम्बन्धित विषयको ४ र विद्यावारिधिको ६ अंक दिइएको छ । शाक्यले तत्कालीन सोभियत संघबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए भने पछि कार्यालयकै खर्चमा ईएमबीए गरेका थिए । उनको योग्यतालाई सहयोग पुग्ने गरी मापदण्ड तय गरिएको छ ।