व्यवसायी फिदा हुसेनको हत्या आरोपमा चार जना पक्राउ

सुनसरी – दुहबी ९ छाताबेलीका व्यवसायी फिदा हुसेनको हत्या आरोपमा प्रहरीले चारजना लाई पक्राउ गरेको छ । ५४ वर्षीय हुसेनको हत्या आरोपमा सुनसरीबाट तीन र नेपालगन्जबाट एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, सोही स्थानका ३१ वर्षीय मोहम्मद जाबिर हुसेन र दुहवी– १२ सीतापुरका ६० वर्षीय विश्वम्बर यादव रहेका छन् । प्रहरीका अनुसार सकिम हत्यामा मुख्य योजनाकार हुन् । जाबिर हुसेन हत्या योजनामा संलग्न तथा सहयोगी हुन् । त्यस्तै, अर्का अभियुक्त यादव घटनामा प्रयोग भएको हतियार लुकाउन संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – यसैगरी सोही घटनामा संलग्न भएको अभियोगमा दुहबी– ९ का जफर मियाँलाई नेपालगन्जबाट प्रहरीले बिहीबार पक्राउ गरेको छ । बुधबार र बिहीबार सुनसरीका फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा मियाँलाई नियन्त्रणमा लिइएको हो । मंसिर ५ गते बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किएका हुसेनमाथि जयबाबा इँटा उद्योगनजिकैको नहरको डिलमा गोली प्रहार भएको थियो ।

उक्त इँटा उद्योगका व्यवस्थापक हुसेनको घटनास्थलमै मृत्यु भएको थियो । अभियुक्तहरूले रिसइबी तथा आर्थिक लेनदेनको कारण हत्या गरेको प्रारम्भिक बयान दिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए । हत्यामा अन्यको समेत संलग्नता भएको हुन सक्ने उनले बताए ।

मन्दिरमा लुकाइयो पेस्तोल

प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल, दुई राउन्ड गोली र चक्कु एक थान दुहबी– १२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा खाल्डो खनी लुकाएको अवस्थामा फेला पारेको छ । कपडाको झोलामा बेरेर राखिएको हतियार प्रहरीले खाल्डोबाट झिकेको हो । पछिल्लो समय सुनसरीमा आपराधिक घटना बढिरहेका छन् । यसअघि गत असोजमा भुटाहामा नेकपाका गाउँस्तरका नेता खुर्सिद आलमको हत्या भएको थियो ।