रगत दिएको बिषयमा दुर्गादेवीमाथि जाइ लागे यज्ञराज !

काठमाडौं, २७ पुस । निर्मलाकी आमा दुर्गादेवीले रगतको नमुना दिएपछि श्रीमान् यज्ञबहादुरले उनलाई कुटपिटको प्रयास गरेका छन् ।

निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी हुन् ।

तर यज्ञराज धर्नास्थलबाट बिहान सिधै घर पुगेर मलाइ नसोधी रगतको नमुना किन दिएको भन्दै दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको खबर बाहिरिएको छ ।

दुर्गादेवीले भनिन्, ‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ? भन्दै कुटपिटको प्रयास भयो’ उनले अगाडी थपिन, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन् ।

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए । ‘रगत दिएको विषय र राहत बुझ्न लागेको विषय उठाएर मेरो घाँटी च्याप्न खोजे’ उनले भनिन्, ‘त्यसपछि फुत्केर बाहिर आएपछि कुटपिट गर्न पाएनन् ।’

घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएको दुर्गादेवीले बताइन् । यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो । यज्ञराजले भने कुटपिटको प्रयास नगरेको दाबी गरे। ‘म घरमा सम्झाउन मात्रै गएको हुँ’, उनले भने, ‘मैले कुटेको छैन् ।’

निर्मलाकी आमा दुर्गादेवीले भने ६ महिना बितिसक्दासमेत हत्यारा पत्ता नलागेको र न्यायकै लागि भौतारिरहँदा घरपरिवार सञ्चालनमा समस्या भएको भन्दै राहत लिएर केही काम गर्न खोजेको र अनुसन्धानमा सहयोग मिलोस भनेर आफुले रगतको नमुना दिएको बताएकी छन् ।