के हो हाइ कोलेस्टेरोल ? कसरी नियन्त्रण गर्ने ?

कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो ।

रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

कालेस्टेरोल जाँच

रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१) टोटल कोलेस्टेरोल

यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन । तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२) एलडिएल कोलेस्टेरोल

एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३) एचडिएल कोलेस्टेरोल

एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४) भिएलडिएल कोलेस्टेरोल

यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५) ट्राइग्लीसराइड कोलेस्टेरोल

ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ ।  ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ  । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

सर्वप्रथम कोलेस्टेरोल बढ्ने कारण खोज्नुपर्छ । कोलेस्टेरोल बढ्ने पहिलो कारण चिल्लो खाना हो । त्यसैले पहिला खानामा सुधार गर्नुपर्छ । शाकाहारी खानामा कोलेस्टेरोल कम हुन्छ । तर फलफुल र सागसब्जिमा कोलेस्टेरोल नै हुदैन । दुध र दुधबाट बनेका पदार्थमा पनि कोलेस्टेरोल बढि हुने भएकाले यस्ता खाना पनि नियन्त्रण गर्नुपर्छ । कोलेस्टेरोल घटाउन मासु र अण्डाको प्रयोग पनि कम गर्नुपर्छ । कोलेस्टेरोलको मात्रा अत्याधिक बढी छ भने औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आएपछि औषधिको मात्रा घटाउदै गएर बन्द पनि गर्न सकिन्छ ।

हाइ कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपायहरु :

१) चिल्लो खाना कम खाने

२) फलफुल र सागसब्जि बढी खाने

३) नियमित शारीरिक व्यायाम गर्ने

४) तौल घटाउने

५) चुरोट र मदिरा छाड्ने

६) डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने