राष्ट्रिय पुननिर्माण प्राधिकरण भन्छ -आउँदो तिहारअघि रानीपोखरीमा पानी र मन्दिर देख्न पाउनेछौं’

काठमाडौं, २६ पुस । अहिले झारले ड्याम्मै ढाकेको रानीपोखरीमा आउँदो तिहारअघि पानी र मन्दिर हुने बताइएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आउने तिहार आघि रानीपोखरीमा पानी र मन्दिर हुने दावी गरेको हो ।

बिहीबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘हामीले आगामी कात्तिक, जतिखेर भाइटीकाको समय हुन्छ । त्यतिखेरसम्म रानीपोखरीमा पानी र मन्दिर बनेको देख्न पाउनेछौं ।’

रानीपोखरी पुनर्निर्माणका विषयमा भएका विवाद समाधान भइसकेकाले काममा अवरोध नहुने सीईओ ज्ञवालीको भनाइ छ । ‘रानीपोखरी पुनर्निर्माणका विषयमा विगतमा ठूलो बहस पनि सिर्जना भयो । तर, अहिले विवादलाई टुङ्गो लगाएर अगाडि बढेका छौं’ उनले भने ।

पोखरीको पिँधमा परम्परागत शैलीकै निर्माण सामग्रीको प्रयोग गरेर पानीलाई रोक्ने ब्यवस्था र वरीपरीको पर्खालको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । मन्दिर निर्माण पुरात्व विभागले गर्नेछ ।

रानीपोखरीको बीचमा रहेको मन्दिर जंगबहादुर राणाको पालामा निर्माण भएको गुम्बज शैलीमा बनाउने गरी विवाद समाधान भएको उनले बताए ।