हुसेन हत्याकाण्ड : ४ जना आरोपी पक्राउ, मुख्य सुटर अझै फरार

विराटनगर, २६ पुस । फिदा हुसेनको हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।

सुनसरी दुहबी नगरपालिका ९ का हुसेनको हत्या आरोपमा देशका विभिन्न स्थानबाट प्रहरीले ४ जना आरोपीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुहवी नगरपालिका– ९ का २८ बर्षका मोहम्मद सकिम हुसेन, ३१ बर्षका जावेद हुसेन र ६० वर्षका विश्वम्भर यादव, २२ वर्षीय जफर मिया रहेका छन् ।

मोरंग प्रहरीले पक्राउ परेका ४ मध्ये ३ जनालाई बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ भने अर्का एकजनालाई बाँकेबाट मोरंगतर्फ ल्याउँदै गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सकिम र जावेद घटनाको योजनाकार हुन् । यादवले हतियार लुकाउन मद्दत गरेको प्रहरीले बताएको छ । गोली प्रहार गर्ने मुख्य सुटर भने अझै फरार छन् । सुटरको पहिचान भइसकेको प्रहरीले जनाएको छ । उसको पनि खोजी भइरको प्रहरीले जनाएको छ ।

गत मंसिर ५ गते बुधबार बिहान श्रीमती आशा खातुन ऋषिदेवसँगै मर्निङ वाकमा निस्किएका ५५ वर्षका हुसेनमाथि गोली प्रहार भएको थियो ।