मुख्यमन्त्रीद्वारा महोत्सवको उद्घाटन

घोराही, २६ पुस | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले थारू कल्याणकारिणी सभा दाङले आयोजना गरेको प्रदेशस्तरीय ‘प्रादेशिक माघ महोत्सव’को आज उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले थारू समुदाय कला संस्कृतिको खानी भएकाले आफ्नो संस्कारलाई पर्यटनसँग जोड्न आगह गर्नुभयो । “थारू जातिसँग अथाह कला संस्कार छ, तर ती सबै चाडपर्वको नाममा सकिएका छन्,” उहाँले भन्नुुभयो, “कलालाई कसरी पर्यटन व्यवसायीसँग जोड्ने भन्ने कुरा बुझ्नु आवश्यक छ ।” उहाँले चितवनका थारूले परम्परागत कलालाई पर्यटनसँग जोडेर उदाहरणीय कार्य गरेको मात्र नभई कलालाई व्यावसायिक रुपान्तरण गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरीले ‘माघी’ थारूको ऐतिहासिक पर्व भएको बताउनुभयो । मुलुकबाट कम्लरीप्रथा मुुक्त भइसकेकाले माघीलाई थारू समुदायले विशेष पर्वका रुपमा मनाउनुपर्ने उहाँको भनाइ थियो । “कम्लरी मुक्त हुनुभन्दा अघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो, तर कम्लरी मुक्त भइसकेपछि यस पर्वलाई उन्मुक्तिको पर्वका रुपमा थारू समुदायले मनाउने गरेका छन्,” उहाँले भन्नुभयो, “थारू समुदायले चाडपर्वलाई अब कला प्रस्तुत गर्ने पर्वका रुपमा मनाउनुपर्छ ।”

महोत्सवमा थारू कला, संस्कृति र वेशभूषा प्रस्तुत गरिएको थियो । महोत्सवमा प्रदेश नं ५ का सात जिल्लाका साथै कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका थारू कलाकारले आफ्नो परम्परा र वेशभूषासँग जोडिएर कला प्रस्तुत गरेका थिए । रासस