भारतमा बन्धक बनाइएका ४ नेपाली युवतीको उद्दार

वीरगञ्ज२६ पुष । नेपाल भारत सिमानाका रक्सौलनजिक रामगढवाबाट भारतीय प्रहरीले मोरङका ४ नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ ।

माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको  टोलि दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ । काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए । १८ वर्ष मुनिका उनीहरु तीनै जना मोरङका हुन् । युवतीहरुको साथमा रहेका ‘प्यारे दाइ’ भनिने राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । होचो कदका उनी पहिला पनि मानव बेचविखन र ओसारपसार गतिविधिमा संलग्न रहेका व्यक्ति भएको बताइएको छ । उनलाई लिन आएका शंकास्पद अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले खुलाएको छैन ।

माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले आर्केष्टाबाट चार जना नेपालीको उद्दार गरिएको पुष्टि गरिन् ।