समुदायसँग साझेदारी गर्न धिमे बाजा सिक्दै प्रहरी

‘धि’ भनेको ढिक्का, ‘मे’ भनेको गीत। शाब्दिक अर्थअनुसार काठको ढिक्कामा ठोकेर बजाइने बाजालाई धिमे भनिन्छ।

नेवार समुदायको मौलिक बाजा धिमे केही समययता महाराजगन्जस्थित नेपाल प्रहरी संगीत विद्यालयमा सिकाइँदैछ। समुदायसँग भिजेर काम गर्ने प्रयासमा मौलिक बाजालाई प्राथमिकता दिएको प्रहरी उपरीक्षक राजेन्द्र गुरुङले बताए।

‘प्रहरी भनेको समुदायको साथी हो। तर, मानिसहरू प्रहरी भनेपछि डराउँछन्,’ गुरुङले भने, ‘त्यो डर भगाउन समुदायसँगको साझेदारी आवश्यक छ। हामी प्रहरी र समुदायलाई नजिक बनाउन चाहन्छौं।’

के यो संगीतबाट सम्भव छ?

गुरुङका अनुसार समुदायसँग नजिकिन त्यहाँको संस्कार र सभ्यता अपनाउन जरुरी हुन्छ। काठमाडौंमा नेवार समुदाय बढी भएकाले हाल नेवारकै मौलिक बाजालाई प्राथमिकता दिइएको उनले जानकारी दिए।

‘हामीले द्वन्द्वकाल र भुइँचालोको समयमा सांगीतिक कार्यक्रम गरेका थियौं। त्यो बेला संगीतको महत्व अझ बढी बुझ्यौं,’ गुरुङले भने, ‘संगीतले एक प्रकारको ध्यानको काम गर्छ र दुःखमा मल्हमको। यो सबैले बुझ्ने भाषा हो।’

‘महानगरीय प्रहरी दिवस’ को अवसरमा पाटन, भक्तपुर लगायत ठाउँमा नेवारी गीतको ‘फ्युजन’ मा सांगीतिक प्रस्तुति गरिएको थियो। त्यसलाई दर्शकले निकै रुचाएको उनले बताए।

‘सबैले वान्स मोर भनिरहेका थिए। ललितपुरका मेयरले समेत विभिन्न कार्यक्रममा हाम्रो उदाहरण दिनुभएछ,’ उनले भने।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा प्रहरीले ब्यान्ड बाजा एवं पश्चिमेली धुन बजाएको हामीले सुन्दै आएका छौं। अब नेपालकै मौलिक बाजा पनि सुन्न पाइने र यसले अन्तर्राष्ट्रिय स्तरमा त्यसको प्रबर्द्धनमा सहयोग पुग्ने गुरुङ बताउँछन्।

वसन्तपुरस्थित ‘बज्र कला कुञ्ज’ मा प्रशिक्षण दिने सुदन मुनिकारले प्रहरीलाई धिमे तालिम दिइरहेका छन्। उनका अनुसार ‘ड्रम सेक्सन’ मा काम गरिरहेका प्रहरी जवानलाई ध्यानमा राखेर तालिम सुरु भएको हो।

नेवारको मौलिक बाजा धिमे महादेवले डमरुबाहेक बजाएको एक मात्र बाजा हो भन्ने भनाइ छ। किम्बदन्तीअनुसार एकपटक महादेवले जंगलमा रहेको काठको ढिक्कामा ठोकेछन्। त्यसबाट सुमधुर धुन निस्किएछ। त्यसैलाई धिमे भनिएको हो।

‘धिमेमा महादेव स्वयं विराजमान भएको मानिन्छ। त्यसैले नाट्यश्वरका रूपमा पनि पूजा गरिन्छ,’ सुदनले भने, ‘यसलाई टोलकै प्रमुख बाजाका रूपमा लिइन्छ। पहिले पहिले त १२ वर्षको एकपटक गुठीमा पनि सिकाइन्थ्यो। यसको बोल अरूलाई भन्न हुँदैन भन्ने गरिन्थ्यो।’

सुदनका अनुसार धिमेमा ४–५ वटा आवाज मिलाएर विभिन्न ताल बनाइन्छ। परम्परागत हिसाबले बोल लेख्न नहुने भनिए पनि अचेल धिमे ‘नोटेसन’ का रूपमा पनि विकास भइसकेको छ। पहिले धिमे ज्यापु समुदायमा मात्र सीमित थियो। महिलाले त झन् बजाउनै हुन्न भनिन्थ्यो। हाल महिला, पुरुष दुवैले बजाउँछन्।

नेवार मात्रै नभई बाहुन, क्षेत्री, लगायत अन्य समुदायले पनि यो बाजा बजाउँछन्। त्यसैले यो साझा बाजाका रूपमा स्थापित भइरहेको छ।

धिमे दुई प्रकारको हुने सुदन बताउँछन्- ठूलो (तगो) धिमे र सानो (चिगो) धिमे।

‘सानो धिमेबाट चलनचल्तीका बोल निकाल्न सकिन्छ। सबैले सिक्दा बजाउने बाजा यही हो,’ उनले भने, ‘ठूलो भने कामकाज, पूजा र जात्रामा बजाइन्छ। यो बजाउन पूजाविधि सम्पन्न गर्नुपर्छ, नियम पालना गर्नुपर्छ।’

सुदनले काठमाडौंबाहिर धरान, इटहरी, पाल्पा, विराटनगर, चितवन लगायत १५ जिल्लामा धिमे कार्यशाला गरिसकेका छन्। प्रत्येक वर्ष दसैं–तिहारको अवसर पारेर ‘हेरिटेज क्याम्प’ मा सिकाउँछन्। ‘हेरिटेज क्याम्प’ पछि प्रहरीलाई सिकाइरहेका छन्।

‘हाम्रो मौलिक बाजा अपनाउनु भनेको हाम्रो संस्कार र सभ्यता अपनाउनु हो,’ उनले भने, ‘प्रहरी भएर समुदायमा पुग्नुपर्छ। त्यहाँको संस्कृतिमा भिजेर समुदायमा सम्बन्ध विस्तार गर्ने सजिलो उपाय बन्न सक्छ।’

सुदनसँग प्रशिक्षण लिने धेरै गैरनेवार प्रहरी जवान थिए। त्यसैमध्ये ताराबहादुर भुसाल भविष्यमा स्कुलहरूमा पनि प्रशिक्षण दिन चाहन्छन्। सांस्कृतिक कार्यक्रममा जान पनि तयार भएको उनले बताए।

नेपाल प्रहरी संगीत विद्यालय २०६३ सालमा स्थापना भएको हो। यहाँ धिमेबाहेक मौलिक बाजामा नौमती र सारंगीको पनि प्रशिक्षण भइरहेको छ। अन्य मौलिक बाजा समयअनुसार थप्दै जाने उपरीक्षक गुरुङले बताए।

उनी नेपाली संगीत अन्तर्राष्ट्रिय रूपमै फैलिनुपर्ने बताउँछन्। भन्छन्, ‘नेपालका सांगीतिक संस्थालाई प्रोत्साहन गर्न जरुरी छ। त्यसको संरक्षण हुनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली संगीतकार जन्माउने प्रयत्न होस्।’

समुदायसँग हातेमालो कार्यक्रममा दुवै पक्षबीच सहकार्यको खाँचो उनी औंल्याउँछन्।

‘हामीले मात्र समुदायलाई आफ्नो बनाउन खोजेर हुँदैन। समुदायले पनि हामीलाई आफ्नो ठान्नुपर्छ,’ उनले भने, ‘अनि पो समुदायसँग साझेदारी गर्न सकिन्छ। समुदायका समस्या साथीझैं प्रहरीलाई भन्ने हो भने अपराध कम हुन्छ।’

‘समुदायमा हामी आफैं पनि एकअर्काका प्रहरी हौं। एउटा छिमेकीको समस्यामा प्रहरी नपुगुन्जेल अर्को छिमेकीले सहयोग गर्न सक्छ। त्यो पनि ‘समुदाय प्रहरी साझेदारी’ को उद्देश्य हो,’ उनले भने।