अटो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते !

भरतपुर, २६ पुस । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकै परिवारका अन्य दुई जना घाइते भएका छन् ।

नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका-४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौँ सिफारिश गरिएको छ ।

अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।