‘समुदाय–प्रहरी पालिका समिति’ गठन

काठमाडौँ, २५ पुस | नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरस्तरीय ‘समुदाय–प्रहरी पालिका समिति’ गठन भएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा पाँच जना नागरिक समाजबाट रहने गरी २० सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा उपप्रमुख हरिप्रभा खड्गी र प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल रहनुभएको छ ।

समितिमा सरकारी निकाय, सामुदायिक प्रहरी सेवा केन्द्र, पूर्वप्रहरी कर्मचारी, सामाजिक सङ्घसंस्था, महिला तथा बालबालिकासम्बन्धी काम गर्ने संस्था, विद्यालयसँग सम्बन्धित संस्था, महिला समूह अभिभावक र सञ्चार क्षेत्रका प्रतिनिधिलाई समावेश गरिएको छ ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले महत्वपूर्ण जिम्मेवारी आज प्राप्त गरेको बताउँदै आँटेका काम सम्पन्न गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनताले गरेका निर्णयमा सबैले साथ दिनुपर्ने भन्दै उहाँले महानगरपालिकाका कर्मचारीको गतिविधि चित्तबुझ्दो नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको दुखेसो गर्नुभयो ।

प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले समुदायसँग मिलेर सुरक्षित समाज निर्माणका लागि प्रहरी हरदम तयार रहेको उल्लेख गर्दै तीन महीनाअघि शुरु गरेको यो अभियानले सकारात्मक सन्देश दिन थालेको जानकरी गराउनुभयो ।

नेपाल प्रहरीले गएको कात्तिक ११ गते घोषणा गरेको उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म काठमाडौँ जिल्लामा १३८ वडास्तरीय, १० नगरपालिकास्तरीय, ७०० भन्दाबढी स्कूलस्तरीय समिति गठन गरिसकेकोे जनाएको छ ।

उक्त अभियानअन्तर्गत अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालित छ । दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजनाका साथ प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको हो ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि अभियान फलदायी हुने विश्वास प्रहरीको छ । रासस