ओठ फुट्ने समस्याबाट हैरान हुनुहुन्छ ? उपनाउनुहोस् यी उपाय

काठमाडौँ – ओठ फुट्ने स्वास्थ्य सम्बन्धि सामन्य् समस्या हो। ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने निकै दुःख दिन्छ। ओठ बाहेक हात खुट्टा पनि फुट्न सक्छन्। तर ओठ फुट्ने समस्या बढि नै हुन्छ र धेरैलाइ यसले सताउछ।

ओठ फुटेपछि केहि खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य समेत बिग्रन्छ । जाडोको समय वा सुख्खा धूलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुट्न सुरू हुन्छ ।

ओठ फुट्दा सुरूमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ । ज्वरो आएको वा जाडो भएको बेला यो बढी हुन्छ । पहिले छाला रातो हुन्छ, चिलाउँछ अनि घाउजस्तो भएर सुन्निन्छ ।

यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ । यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ । कसैकसैलाई यो बारम्बार भइरहन्छ । यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ ।

समाधान
हावामा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केहि छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्केमा केहि रक्षा हुनसक्छ ।

राती सुत्दा विशेष गरी ग्लिसरीनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रक्रिया कम हुन्छ । सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरीकाले ओठमा दल्नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केहि सञ्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ ।