सरकारले बाँडेको कोट १ हजारमा बेचेर रक्सी पिउँछन् राउटेहरु !

सुर्खेत, २५ पुस । सरकारले वितरण गरेको न्यानो कोट बेचेर राउटेहरुले मदिरा किनेर पिएको खबर सार्बजनिक भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लेकबेसी नगरपालिका–१ थोत्रीखोलाको राउटे बस्तीमा गत शनिवार वितरण गरेको कोट बेचेर मदिरा किनेर पिएका हुन् ।

सरकारले चिसो महिनामा कोट वितरण गरेपछि सामाजिक सञ्जालमा राउटेले कोट लगाएको तस्विर भाइरल समेत भयो । कतिपयले राउटेको मौलिक पहिरन मासिने गरी कोट वितरण गरिएकोमा आलोचना समेत गरे ।

मन्त्रालयबाट कोट लगायतका न्यानो कपडा वितरण गर्न ८ लाख रुपैयाँ खर्च भयो । राउटेले कोट लगाएको फोटो खिँचेर मन्त्रालयका कर्मचारी सदरमुकामतिर फर्केपछि राउटेले कोट बिक्री गरे । प्रदेश सरकारले वितरण गरेका कोट लगायत कपडा बेचेर स्थानीय राउटेले सस्तोमा पाइने सोफी मदिरा खाएका छन् ।

मन्त्रालयका सचिव मानबहादुर विकले करीब ८ लाख रुपैयाँ खर्चेर राउटे बस्तीमा कोट, न्यानो कपडा, स्वास्थ्य शिविर लगायका काम गरेको बताए ।

केही महिनाअघि नेपाल प्रहरी श्रीमती संघले न्यानो कपडा, कम्बल र खाद्यान्न दिएको थियो । तर राउटेले पाएको लुगाकपडा र कम्बल सबै बिक्री गरिसकेको पाइएको लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । ‘राउटे समुदायमा पर्याप्त सामग्री आएपनि उनीहरूले मदिरा खरिद गर्न सामग्री बिक्री गरिरहेका छन्,’ उनले भने ।