इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाईल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दियो !

इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाईल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको छ।

अठार वर्षीया रहफ मोहम्मद अल-कुकुनले केही गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसङ्घ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन्। शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई थाईल्यान्डको विमानस्थलमा नियन्त्रणमा लिइएको थियो।

भागेर थाईल्यान्ड पुगेकी साउदी युवती अहिले के गर्दैछिन्

इस्लाम परित्याग गरेर परिवारबाट भाग्ने यी साउदी युवती को हुन्

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन्।

थाई अधिकारीहरूले सोमवार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन्। सोमवार साँझ उनलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो।

यूएनएचसीएचआरले ती युवतीको मागबारे विचार गर्न अस्ट्रेलियालाई औपचारिक सिफारिस गरेको थियो। अस्ट्रेलिया सरकारको डिपार्ट्मेन्ट अफ होम अफेअर्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै सो सिफारिसलाई नियमित तरिकाले हेर्ने जनाएको छ। तर सरकारले सो विषयमा थप टिप्पणी नगर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रवेशाज्ञाका लागि मोहम्मद अल-कुकुनको चरित्र र सुरक्षाबारे परीक्षण हुनेछ। यसअघि अस्ट्रेलियाका वरिष्ठ अधिकारीहरूले उनको शरणको मागलाई स्वीकार गरिने सङ्केत दिइसकेका थिए।

बिबिसी