परे पछि चेते सभामुख महरा : अब सांसदले सरकारलाई प्रश्न सोध्न पाउने !

काठमाडौं, २५ पुस । संसद बैठक जारी रहँदा सभामुख कृष्णबहादुर महरा अब चनाखो बन्ने भएका छन् । आइतबार संसद बैठकमा घटेको घटनाक्रमले पनि उनलाई चनाखो हुन पाठ सिकाएको हो ।

यसैबीच सभामुख महराले आजको संसदमा सार्वजनिक महत्वको वक्तव्यमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, प्रश्न गर्न नदिएको भन्दै सांसदहरुले रोष्टममा नाराबाजी गरेका थिए ।

बुधबारको संसद बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरु किन जवाफ दिन चाहनुहुन्न ?’

सांसदहरुको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए ।

लगतै सभामुख महराले २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिँदा सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।