फेसबुकमार्फत चिनजान गरेर जागिर लगाइदिने भन्दै महिलालाई इटहरीको एक होटेलमा राखेर बलात्कार गर्ने युवा पक्राउ

सुनसरी, २५ पुस । पछिल्लो समय इन्टरनेटको पहुँच बढेसंगै समाजमा आपराधिक घटनाहरु पनि पढ्ने क्रम जारी छ । फरक फरक प्रकृतिका अपराधहरु समाजमा देखिने गरेको छ । यसै क्रममा सुनसरीका एक युवाले फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिने भन्दै एक महिलालाई बलात्कार गरेको खुलेको छ ।

जागिर लगाइदिने भन्दै महिलालाई बोलाएर जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ वर्षीया महिलालाई जागिर लगाइदिन्छु भनी पुस २० गते धरान बोलाएका थिए ।

धरानमा भेटेपछि इटहरी ल्याएर उनले ती महिलालाई एक होटलमा राखेका थिए । राईले पुस २० देखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै ती महिलालाई जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ । पीडित महिलाको जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।