नेपाल चेम्बर अफ कमर्सद्धारा श्रृङ्खला खतिवडा र महेश्वर महर्जनलाई सम्मान

काठमाडौं, । नेपाल चेम्बर अफ कमर्सको ६८ औँ वार्षिक साधारणसभा र चेम्बर डेको अबसर पारेर चेम्बर अफ कमर्सले सम्मान कार्यक्रम गरेको छ । सम्मानित हुनेमा मिस नेपाल श्रृङ्खला खतिवडा, फर्स्ट रनरअप मनिता देवकोटा, बडी बिल्डर महेश्वर महर्जन र होटल व्यवसायी विप्लव पौडेललाई रहेका छन् ।

यसैगरी, एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, व्यवसायी चिरञ्जीलाल अग्रवाल तथा चेम्बरका पूर्व अध्यक्षद्वय सुरेन्द्रवीर मालाकार र महेशकुमार अग्रवाल पनि सम्मानित भएका छन्।

व्यवसायीदेखि मिस नेपालसम्मलाई सम्मान गर्न भ्याएको चेम्बरलाई प्रधानमन्त्री ओलीले सम्पूर्ण क्षेत्र नै आफ्नो हातमा लिन सक्ने संस्था भन्दै मन्तव्यका क्रममा हँसाएका थिए । उनले भने,‘बडी बिल्डर, ब्युटी क्विन, सरकार र विजनेस म्यानसम्मलाई हातमा लिन सक्ने तपाईंहरु शक्तिशाली हुनुहुन्छ।’

ओलीले नीनिगत व्यवहारिक सुधारका लागि निजी क्षेत्रसँगै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । उनले व्यावसायिक वातावरण तयार गरी लगानी प्रवर्द्धनका लागि कानुनी र व्यवहारिक पक्षको सुधारका लागि सरकार सधै तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगको छलफलबाटै कानुन निर्माण तथा संशोधन गर्न सकिने भन्दै त्यसका लागि व्यवसायिक संगठनहरुले पनि पहल गर्नुपर्ने बताए ।

ओलीले व्यवसायीलाई स्वस्थ रुपमा कर तिर्ने वातावरण सरकारले बनाउने उनले बताए । त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सशक्तिकरणबाट मात्रै आर्थिक समृद्धि हासिल हुने भन्दै सरकारले निजी क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

संघीय संरचनामा बहुकर प्रणाली कार्यान्वयन हुँदा त्यसले व्यावसायिक वातावरण कमजोर बनाउने भन्दै उनले त्यस्ता विषयको समाधान हुनुपर्ने उल्लेख गरे ।

श्रेष्ठले सरकारले कर संकलन बढाउँदै लगे पनि खर्च गर्न नसक्दा ढुकुटीमा पैसा थुप्रिएको तर बैंक तथा वित्तीय संस्थाहरु भने लगानी गर्ने रकमको अभाव झेलिरहेको उनले बताए ।