नेपाली कामदार लैजाने विषयमा छलफल गर्न आज जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं, २५ पुस – जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि आज (बुधबार काठमाडौं आउँदै छन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लागेका हुन् । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । जापानी विदेशशमन्त्रीसँग नेपाली कामदार लैजाने विषयमा पनि कुरा हुने जनाइएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिनाअघि जापानको औपचारिक भ्रमण गरेका थिए । यसअघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गरेका थिए ।

यस्तै, सन् २००२ मा तत्कालीन जापानी प्रधानमन्त्री योसिहिरो मोरीले दुई दिने नेपाल भ्रमण गरेका थिए । यसैगरी, जापानी विदेश राज्यमन्त्री नोबु कासीले सन् २०१६ को अगस्टमा र जापानी संसदीय उपमन्त्री कियोसी वडावराले सन् २०१७ को जुलाइमा नेपालको भ्रमण गर्नु भएको थियो । सन् २०१७ को जुनमा जापानी वतावरण राज्यमन्त्री टाडाहिको इटोले नेपालको भ्रमण गरेका थिए ।

नेपाल जापान सम्बन्ध १८ औं शताब्दीको अन्त्यतिरबाट शुरु भएको भए पनि कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरबाट स्थापना भएको थियो । सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।