सङ्ग्रौलाद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २४ पुस | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।

सडक सुरक्षासम्बन्धी प्रस्तावको समर्थकमा काङ्ग्रेसका सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमती शाही रहनुभएको छ । सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका वाहनलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्तालाई सुरक्षित पार्न र दुर्घटनापश्चात्को उद्धार र स्याहारको व्यवस्थापन गर्न उक्त विषयमा छलफल गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

साथै राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यले तोकेको सडकजन्य दुर्घटना न्यूनीकरण गर्न, सरकारले तयार गरेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन सो विषयमा छलफल गर्नुपर्ने जनाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा ४० हजार ७७७ दुर्घटना भएका थिए । जसमा आठ हजार ९८२ जनाको मृत्यु भएको थियो । यसको मूल कारण नेपालमा एक लाख सवारीका साधन हुँदाका बखत र सडक सञ्जालको सीमित लम्बाइ भएको बेलामा तर्जुमा गरेका कानूनलाई अद्यावधिक गर्न नसक्नु पनि एक मुख्य कारण भएको सूचनामा उल्लेख छ ।

करीब २६ वर्षअघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र २० वर्ष अघि बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ का आधारमा नेपालको यातायात व्यवस्थापन भइरहेको छ । रासस