ठग्नेहरुको नयाँ आइडिया : बाहिर सक्कली डलरको बिटो, भित्र खोलेर हेर्दा कागजै कागज !

काठमाडौं, २४ पुस । समाजमा ब्याप्त चोरी, डकैती, लुटपाट, ठगि जस्ता विभिन्न किसिमका अपराधहरुको नयाँ -नयाँ स्वरूप सार्बजनिक हुने क्रममा पछिल्लो समय ठगिको नयाँ स्वरुपको पर्दाफास भएको छ ।

ठगीमा संगल्न एक गिरोहले सस्तोमा नेपाली रुपैयाँसँग डलर साट्ने प्रलोभन देखाएर आम सर्वसाधारणलाई ठग्ने गरेको घटना सार्बजनिक भएको छ ।

ती गिरोहले बाहिर सक्कली डलर राखेर भित्र डलरजस्तो देखिने कागज राखी कारोबार गर्दै आएको खुलेको हो ।

डलरको बिटोको बाहिर सक्कली डलर र भित्र ठ्याक्कै डलर जस्तो देखिने कागज राखेर ठगी गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली– १० का २८ वर्षीय कुमसिंह घिसिङ र काठमाडौ बस्ने ३० वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् ।

उनीहरुले लामो समयदेखि नक्कली डलरको कारोबार गर्दै आएका थिए । विभिन्न व्यक्तिलाई भेटेर डलर साटिदिन्छु भन्ने र लामो समयदेखि लुटपाट समेत गर्दै आएको प्रहरीले जनाएको छ । अपराधमा सक्रिय रुपमा संलग्न रहेका दुई जनाबाट प्रहरीले २३ हजार ७ सय ९० नेपाली रुपैयाँ, डलर जस्तो देखिने कागजको बिट्टा ४ थान बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निजहरुले २० लाखभन्दा बढी ठगेको खुलेको महानगरीय प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी भन्छन्, ‘उनीहरुले अझ ठूलो रकम ठगी गरेको हुन सक्छ, यसबारे हामी थप अनुसन्धान गर्छौँ ।’