माथिल्लो तामाकोशीको साधारण शेयर स्टकमा सूचीकृत हुँदै

काठमाडौं, २४ पुस । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिइएको छ ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।

स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो ।

शुरुको कारोवार मूल्य के कति हुने भन्नेबारेमा भने स्टकले केही जानकारी दिएको छैन ।