मालिकाले छाप्यो ३ लाख बढी लाइसेन्स, अब छाप्न बाँकी २ लाख !

काठमाडौं, २४ पुस । मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिसकेको बताएको छ ।

यातायात व्यवस्था विभागबाट ५ लाख लाइसेन्स छाप्ने जिम्मा पाएको मालिकाले ३ लाख भन्दा बढी लाइसेन्स छापिसकेको बताएको हो ।

सुरुवाति दिनमा ‘डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको मालिका इन्कर्पारेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले सेतोपाटीलाई जानकारी दिए । बाँकी लाइसेन्स छाप्नलाई बढीमा १५ दिन लाग्ने ढकालले दाबी गरे ।

‘३ लाख भन्दा बढी लाइसेन्स छापे पनि सबै विभागलाई ‘ह्याण्डओभर’ गरिसकेको भने छैन,छिट्टै सबै लाइसेन्स विभागको जिम्मा लगाउँछौ’ ढकालले भने ।

उता, विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म अर्थात ४५ दिनको समय दिएको थियो । लाइसेन्स छाप्न डाटामा आएको समस्याको कारण थप ३० दिन समय थप गरिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।