सबै जातिका भाषाको विकास आवश्यक : अध्यक्ष थापा

काठमाडौँ, २३ पुस | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिका लागि सबै भाषा, संस्कृति र धर्मको विकास हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको आदिवासी जनजाति विभागले आज आयोजना गरेको ‘राप्रपा र आदिवासी जनजातिबीचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा अध्यक्ष थापाले सबै धर्मावलम्बीको साझा पार्टीको रुपमा आफ्नो सङ्गठन निर्माण गर्ने बताउनुभयो । उहाँले हिन्दु, बौद्ध, किराँत, मुस्लीम, क्रिश्चियनलगायतका परम्परा तथा संस्कृतिको संरक्षणका लागि पार्टीले गतिविधि गर्ने बताउनुभयो ।

पार्टीले उठाएका राजनीतिक मुद्दाहरु देश र जनताको हितमा रहेको बताउँदै अध्यक्ष थापाले सबै धर्म सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । सासद राजेन्द्र लिङ्देनले मुलुकमा रहेका सबै आदिवासी जनजातिको भाषा, लिपिको जगेर्ना गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामा, पार्टीका वरिष्ठ नेता बालाराम घर्तिमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठकलगायतले पार्टीले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीलाई एकताबद्ध गर्ने आदर्शलाई अवलम्बन गरेको विचार व्यक्त गर्नुभयो । यसैबीच डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) ले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै आज साँझ वसन्तपुर, असन तथा त्यस आसपास क्षेत्रमा पदयात्रा गरेको छ । रासस