१२ बर्षीय बालिका गंगामाया आमा बनिन, छोरी जन्माइन (भिडियो)

काठमाडौँ । १२ बर्षीय गंगामाया छोरीलाई जन्मदिएकी छिन् । अस्पतालको बेडमा आफैं लजाउँछिन्। मुस्काउँछिन्। शल्यक्रिया गरी शिशु जन्माएका कारण उनलाई उठ्न समेत सकस छ। ‘दूध खुवाउन सकेकी छैन। आमाको दूध खान नसकुन्जेल दूधदानीमा यै (सेरलेक्स) खुवाउने हो’, राममायाले भनिन्। सुत्केरी गंगामायाले भने हर्लिक्स र जाउलो खान थालेकी छन्।

परोपकार प्रसुति गृहको क्याबिन नं ५ मा बालिका गंगामायाले शिशु जन्माएपछि सोध्दै जानेहरू बढेपछि नर्सहरू पनि हैरान छन्। ‘यति सानो उमेरमा बच्चा जन्माएको देखेर हामीलाई आश्चर्य लाग्यो। अहिले आगन्तुकहरू आउन थालेपछि क्याबिनमा लैजान अप्ठेरो भएको छ’, एक नर्सले भनिन्।

उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचार गर्न चासो देखायो।

‘जीवन जोखिममा पर्ने स्थिति थियो। बालिका र नवजात शिशुको जीवन संकटमा पर्ने अवस्था देखेपछि उद्धार गरी काठमाडौं ल्याइएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

गंगामायालाई एम्बुलेन्समा ल्याई परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो। भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए।