पर्यटकीय बजारमा विद्युत् विस्तार भएको छ

तेह्रथुम, २३ पुस | तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती तीनजुरे मिल्के जलजले क्षेत्रका पर्यटकीय बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ ।

सो प्रसारणबाट गुफाबजार, सुकेबजार र जोरपोखरी बजारमा एकसाथ विद्युत् विस्तार गरिएको हो । विद्युत् विस्तार भएपछि बजार क्षेत्रमा हुने गरेको अन्धकार हटेको छ । चैनपुर नगरपालिका–१, नुनढाकीस्थित उक्त बजारमा विद्युत् विस्तारपछि आइतबारबाट बत्ती बल्न थालेको सुकेबजारका सन्तोष लिम्बूले बताउनुभयो ।

सत्र वर्षअघि निर्माण गरिएको आयोजनाका यन्त्रमा समस्या आएपछि पाँच वर्षयता भरपर्दो विद्युत् सेवा थिएन । आयोजना सञ्चालन हुँदाका बखत समेत स्थानीयवासीले पर्याप्त विद्युत् उपभोग गर्न पाउँदैनथे । विद्युत्मा भएको समस्याबारे पटक पटक स्थानीय सरकारदेखि सांसदसम्मलाई सुनाएपछि विद्युतीकरण भएको स्थानीय गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताउनुभयो ।

विद्युत् पुगेपछि मोबाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न सहज हुने भएको छ । विद्युतीकरणका लागि दुई वर्षदेखि प्रयास हुँदै आएको र प्राधिकरणकै सहयोगमा बल्ल विद्युतीकरण गर्न सकिएको विद्युत् विस्तार समितिका सचिव केदारनाथ लिम्बूले बताउनुभयो । रासस