अभियुक्त चौध वर्षपछि पक्राउ गरेको छ

वालिङ, २३ पुस | कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता विजयकुमार सिंहका अनुसार २०६१ साल कात्तिकमा साबिकको तुल्सीभञ्ज्याङ–१ सिजाखर्कका सोमबहादुर रानालाई आक्रमण गरेका सोही ठाउँका ठगबहादुर राना भन्ने थमनबहादुर राना मगरलाई पक्राउ गरिएको हो । ठगबहादुरले साइकलको चेन, लाठी, दाउराले आक्रमण गर्दा गम्भीर घाइते भएका सोमबहादुरलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सोमबहादुरको मृत्युपश्चात् फरार रहेका ठगबहादुरलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस