मापसे गरेर ट्रक चलाउँदा एकै परिवारका ५ जना सहित ट्रक चालकको पनि गयो ज्यान, प्रत्यक्षदर्शी भन्छन् -‘ ट्रक गुडिरहेको होइन उडिरहेको थियो !’

लेसिङटन, २३ पुस । अमेरिकाको केन्टकीको इन्टरस्टेट राजमार्गमा पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । र्घटनामा पिकअप चालकको पनि मृत्यु भएको छ ।

उक्ता दुर्घटना बिहानीपख साढे दुई बजे भएको थियो । प्रहरीका अनुसार दुर्घटना हुनासाथ एसयुभी कारमा आगो सल्किएको र परिवारका सबै पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मिसिगनको नर्थभिलमा बसोबास रहेको उक्त परिवार फ्लोरिडामा छुट्टी मनाएर घर फर्कदै थियो । प्रत्यक्षदर्शी केनेथ डीग्याफले पिकअप ट्रक उल्टो बाटो हिँडेको र आफूसँग पनि उक्त गाडी ठोक्किनबाट जोगिएको बताए ।

“त्यो पिकअप ट्रक बीच बाटो (लेन) मा उल्टो दिशातर्फ दौडिरहेको थियो । मैले आफ्नो सवारीलाई बल्लतल्ल जोगाएर दाहिने लेनमा लैजानु परेको थियो । मेरो विचारमा त्यो गाडी गुडिरहेको होइन, उडिरहेको थियो ।”

प्रहरीले मारिनेहरुमा इसाम अब्बास र रीमा अब्बास तथा उनीहरुका तीन जना छोराछोरी अलि अब्बास, इसाबेला अब्बास र गिसेल अब्बास रहेको जनाएको छ ।