‘निरङ्कुशता लाद्ने सम्भावना छैन’

काठमाडौँ, २३ पुस | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले हालको सङ्घीय संसद् व्यवस्थामा सभामुखले निरङ्कुशता लाद्ने सम्भावना नरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले आइतबारको संसद्मा सभामुख महराले प्रतिपक्षी सांसदलाई बोल्न अनुमति नदिएको भन्ने भनाइमा सत्यता नरहेको जानकारी गराउनुभयो । प्रतिपक्षी सांसद मिनेन्द्र रिजाललाई बोल्ने समय दिइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हिजोको सभामुखको भनाइको भिडियो रेकर्ड सुनेपछि तथ्य खुल्छ ।”

उहाँले विमान खरीद प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन भएको र गल्ती गरेको भेटिएमा कुनै पनि मन्त्री नबच्ने स्पष्ट पार्नुभयो । नेपाली काङ्ग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले संसदीय व्यवस्थामा रहेको शक्ति सन्तुलनको सिद्धान्तलाई भत्काउन सरकारले आक्रमण गरिरहेको आरोप लगाउनुभयो । उहाँले अब बस्ने संसद्को बैठकमा सांसदलाई प्रश्न सोध्ने मौका दिनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्नुभयो । रासस