नवनियुक्त टेलिकमका प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं, २३ पुस । खुल्ला प्रतिस्पर्धाबाट छानिएका नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् ।

अधिकारीले सोमबारदेखि नेपाल टेलिकमको प्रबन्ध निर्देशक कार्यभार सम्हालेका हुन् ।

अधिकारीलाई सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रबन्ध पदमा नियुक्ति गरेको थियो ।

पदभार ग्रहणपणपछि अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरेका थिए । काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने उनले बताएका थिए ।

रिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, आधिकारिक ट्रेड युनियनलगायत विभिन्न कम्पनीमा आवद्ध कर्मचारीहरुको समेत उपस्थिति थियो ।