अफ्रिकी मुलुक ग्याबोनमा सेनाद्वारा निर्वाचित राष्ट्रपतिलाई हटाएर शासन सत्ता कब्जा !

काठमाडौं, २३ पुस । अफ्रिकी राष्ट्र ग्याबोनमा सेनाले कू गरेको छ । त्यहाँका सेनाले निर्वाचित राष्ट्रपति बोंगोलाई हटाएर शासन सत्ता आफ्नो हातमा लिएको छ ।

सेनाले बोंगोको काममा असन्तुष्टि जनाउँदै शासन सत्ता हातमा लिएको हो ।

सोमबार बिहान साढे चार बजे सरकारी रेडियोमार्फत् सम्बोधन गर्दै एक सैन्य अधिकारीले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्न आफूहरूले शासन सत्ता हातमा लिएको बताएका हुन् ।

रेडियो सम्बोधनलगत्तै हतियारसहितका सैनिक सरकारी टेलिभिजनमा देखिएका थिए । टेलिभिजनबाट पनि सैनिकले राष्ट्रपति अलि बोंगोलाई अपदस्त गरिएको बताए ।

५९ वर्षीय बोंगोलाई गत अक्टोबरमा साउदी अरेबियामा हुँदा हृदयघात भएको थियो । उनी अहिले पनि मोरोक्कोको अस्पतालमा उपचाररत छन् । उनी आफ्ना बुवापछि सन् २००९ मा ग्याबोनको राष्ट्रपति बनेका थिए । र २०१६ मा फेरि राष्ट्रपति निर्वाचित भएका थिए ।