वाइड बडी खरिदमा मेरो कुनै संलग्नता छैन, अनुमानका भरमा नाम जोडियो : रवीन्द्र अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको तर संसदीय उपसमितिले अनुमानका भरमा आफूमाथि अनियमितताको आरोप लगाएको बताएका छन्।

सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको बताएका हुन्।

पत्रकार सम्मेलनको सुरूमा मन्त्री अधिकारीले आफूले पद सम्हालेयता भएका कामको बारे चर्चा गरेका थिए। त्यसपछि वाइड बडी खरिद गर्न विभिन्न समयमा भएका निर्णय र पक्रियाबारे बताए।

‘मैले किस्ता रोकेको भए सरकारले दिएको ९ अर्ब जोखिममा पर्न सक्थ्यो, त्यसको जिम्मेवार को हुन्थ्यो,’ उनले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम पनि मैले किस्ता रोक्न सक्ने आधार थिएन।’

मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको आरोप लगाए। उनले आफूले संसदीय समितिमा रहेर काम गरेभन्दा बेग्लै तरिकाले अहिले उपसमितिले अनुसन्धान गरेको दाबी गरे।

‘विगतमा सम्मानित संसदका विभिन्न समितिहरूमा रहेर मैले खेलेको भूमिका र विकासप्रतिको मेरो लगाव सबैसामू छर्लंग छ। संसदीय समितिले खेल्ने भूमिकालाई म उच्च सम्मान तथा आत्मसात् गर्छु। तर यसका नाममा विकासलाई र काम गर्ने मनोबललाई नकारात्मक असर पार्ने कार्य नहोस् भन्ने कामना पनि गर्दछु,’ अधिकारीले भने।

यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी र मन्त्री अधिकारी दोषी बनाइएको छ।

उपसमितिले बुधबार प्रतिवेदन दिएपछि सरकार बिहीबार उच्चस्तरीय छानबिन आयोग बनाएको थियो।

मन्त्री अधिकारीले आफू यो प्रकरणबाट नभाग्ने बताए।

‘म यो विश्वास दिलाउन चाहन्छु कि म कुनै समस्याबाट भागेर कसैले समाधान निकालोस् भन्ने सोचमा छैन,’ अधिकारीले भने।