सुनसहित नगद चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा

काठमाडौँ, २३ पुस । सुन र नगद चोरी गर्ने एकजना प्रहरी फन्दामा परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए । उनले भने, “अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्” ।

प्रहरीले अधिकारीको साथ्बाट रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ ।