एकाबिहानै यात्रु बस पल्टियो, २३ जना घाइते

नवलपरासी, २३ पुस । सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु-११ बाहुनेकुनामा सोमबार बिहान करीब ३ बजेतिर बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको अनुसार सुर्खेतबाट काठमाडौं जानका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करीव १०० फिट उत्तर साइडमा पल्टिएको हाे ।

बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरूलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् । बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।