सरकारले खाजा कार्यक्रम हटाएपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

भरतपुर, २३ पुस । दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई सरकारले दिदै आएको दिवाखाजा कार्यक्रम गत भदौदेखि हटाएपछि चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका हुन् ।

खाजा कार्यक्रमले आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो ।

चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन धौँधौँ भइरहेको बताउछन्। “पाँच महीनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ” उनले भने, “विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन्।” चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ ।

चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् । १७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् ।

वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन्।