सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

कुन्दुज, २२ पुस | अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् ।

बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताउनुभयो ।

स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरु भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताउनुभयो ।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरु व्यावसायिक व्यक्तिहरु नभएको बताउनुभयो ।

स्थानीय गाउँलेहरु खानीको व्यवसायमा दशकौंदेखि संलग्न छन् र तिनीहरुमा सरकारको कुनै नियन्त्रण पनि छैन, नजारीले भन्नुभयो । उहाँले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिनुभयो । रासस/एएफपी