‘प्रदेशबाट समृद्धिको यात्रा’

सिन्धुली, २२ पुस | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई समृद्ध बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभएको छ ।

सिन्धुलीमाढीमा आज प्रादेशिक महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस प्रदेशले देशलाई नै समृद्ध बनाउने बताउनुभयो । जमीन, जल र जङ्गलको उचित प्रयोग गरी प्रदेश सरकार समृद्धिको यात्रातर्फ अघि बढेको उहाँको भनाइ थियो । खाद्य तथा नगदेबाली लगाएर उत्पादनमा वृद्धि गरी देशलाई नै पुग्ने गरी खाद्यान्न उत्पादन गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

“प्रदेश सरकारले कृषिलाई व्यवस्थित र आधुनिकीकरण गरी बजारको व्यवस्था गर्नेछ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री पौडेलले आजै सुनकोसी गाउँपालिकामा माछापालन पोखरीको शिलान्यास गर्नुभयो । प्रदेश सरकारको रु तीन करोड सहयोगमा सुनकोसी गाउँपालिकामा झण्डै १०० बिघा जग्गामा सहकारीमा आधारित सामूहिक माछापालन गरिने भएको हो । सो अवसरमा कृषि, भूमि तथा सहकारीमन्त्री दावा दोर्जे लामाको समेत उपस्थिति रहेको थियो । रासस