सुत्केरीको अवस्थाबारे जानकारी

काठमाडौँ, २२ पुस | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले कान्ति बाल अस्पताल पुगेर दोलखा मेलुङ गाउँपपालिका – १ का १९ वर्षीया सुत्केरी बिन्दा भुजेल र उनको बच्चाको स्वास्थ्यबारे जानकारी लिनुभएको छ । यही पुस २० गते भुजेलले छोरा जन्माउनुभएको थियो ।

भुजेलको स्वास्थ्य सामान्य भए पनि बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि महिला मन्त्रालयको समन्वयमा आमा र बच्चालाई नेपाली सेनाको सहयोगमा हेलिकप्टरबा काठमाडौँ ल्याइएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । बिन्दाको आर्थिक अवस्था अत्यन्त कमजोर छ । बच्चालाई अहिले सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । मन्त्रालयले मुलुकका विभिन्न स्थानमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको सुविधाका लागि हवाई उद्दार कार्य शुरु गरेको छ । यसअघि मन्त्रालयले सुत्केरीलाई हुम्लाबाट सुर्खेतमा उद्दार गरेको थियो । रासस