नेपाली फुटबल खेलाडीको स्तर खस्किएको थ्रीस्टारका प्रशिक्षक केसीको विश्लेषण

काठमाडौं, २२ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्ने लक्ष्य राखेको थ्रीस्टार क्लबले अन्तत: तेस्रो स्थानमा चित्त बुझाएको छ ।

थ्रीस्टारले आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलले पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको हो ।

लिगको शीर्ष टिम मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब र संकटा क्लबसँग थ्रीस्टार पराजित हुँदा उपाधि जित्ने अभियान सफल हुन सकेन ।

लिगको सबै खेल सकेपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नेपालको खेलस्तर खस्किएको विश्लेषण गरेका छन् ।

‘नेपालको फुटबलको स्तर खस्किएकै हो किनभने लिगको शीर्ष टिमले पनि पुछारको टिमलाई डोमिनेट गरेर खेल्न सकेनन्, ‘ उनले भने ।

उनले थपे, ‘लिगमा जित हार हुनु स्वभाविक हो। हामीले वरीयतामा गर्व गर्नु पर्ने अवस्था छैन । दु:खको कुरा नेपाली खेलाडीको स्तर एकदम खस्किएको छ । लिगमा डेढ-२ सय जना खेलाडी खेले । तर राष्ट्रिय टिमका खेलाडी र भर्खरका जुनियर खेलाडीको प्रदर्शनमा पनि त्यति धेरै फरक छैन ।’