संसद् बैठक २५ गते सम्मलाई स्थगित, सभामुखले हुकुमी शैली देखाएको कांग्रेस संसद गगन थापाको आरोप !

काठमाडौं, २२ पुस । आइतबार बसेको संसद सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नापाएको भन्दै सदन अबरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण संसद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा गरेको सम्बोधनका विषयमा सदनमा कांग्रेसले प्रश्न गर्न पाउनु पर्ने अडान राखेपछि बैठक सूचना टाँसेरै २५ गते सम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले सूचना प्रकाशित गरी आइतवार बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश चल्न नसक्ने जानकारी गराएका हुन् ।

यसअघि बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेलगत्तै कांग्रेस सांसदहरूले प्रश्न गर्न पाउनु पर्ने भन्दै संसद् बैठक अवरुद्ध गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटपछि बस्ने भन्दै दिउँसो साढे २ बजे बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि भएको छलफलमा कांग्रेसले प्रश्न गर्न पाउनुपर्ने अडान लिएपछि बैठक सूचनामार्फत् स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि संसद् सचिवाल परिसरमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगन थापाले सभामुखको कार्यशैली हुकुमी भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा तथ्याङ्क तोडमोड गरी वक्तव्य दिएकोले आफूहरूले प्रश्न गर्न चाहेको थापाले बताए ।