रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै रेशम चौधरीको सपथ र वाइडबडी बारे एक शब्द पनि बोलेनन् प्रधानमन्त्री ओली !

काठमाडौं, २२ पुस । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब एक घण्टा सम्बोधन गरे पनि यसै हप्ता सरकारसंग जोडिएको दुई महत्वपूर्ण विषयमा भने मौन रहे ।

सरकारका कामकारबाही र त्यसमा उठेका प्रश्नबारे जवाफ दिएका प्रधानमन्त्री ओलीले रेशम चौधरीको सपथ र वाइड बडीबारे मौन रहेका हुन् ।

वाइड बडी प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबारे लेखा समितिले निर्णय गर्न नपाउँदै सरकारले छुट्टै आयोग बनाएको र अख्तियारलाई बाइपास गरेको भनी विपक्षी दलका नेता शेरबहादुर देउवाले समेत प्रश्न उठाएका थिए ।

यस्तै फौजदारी मुद्धाका अभियुक्त रेशम चौधरीलाई सपथ गराएको भन्दै सरकारको आलोचना भएको थियो । यसमा सपथ खुवाउने ठीक बेठीक मात्र होइन, अहिले सपथ खुवाउनु थियो भने एक वर्षसम्म किन रोकियो भन्ने प्रश्न छ । तर, प्रधानमन्त्री यस विषयमा पनि प्रवेश गरेनन् ।

उनले सम्बोधनका क्रममा आफू कुनै तर्कहरु र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै आफ्नो भनाइ राखेका थिए ।