बीपीएलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, डेब्यूमै लिए २ विकेट

काठमाडौं, २२ पुस । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा डेब्यु खेलमै २ विकेट लिएका छन् ।

उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन् ।

सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोहेब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए ।

यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरेका छन् ।

खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो ।